डिपोको पार्किङबाटै डिजेलसहितको ट्याङ्कर चोरी

मोरङ-नेपाल आयल निगम विराटनगर डिपोको पार्किङबाट डिजेलसहितको ट्याङ्कर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्याङ्कर चोरी भएको हो ।

चोरीको आरोपमा प्रहरीले ट्याङ्करसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । यादव निगमका पूर्व चालक हुन् । उनले केही महिनाअघि मात्र जागिर छाडेका पाइएको छ । राति ट्याङ्कर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्याङ्करसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कायालय मोरङले जानकारी दिएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

आइतबार राति करिब साढे १ बजे विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्याङ्कर चोरी भएको थियो । चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्याङ्कर चोरी गरेको प्रहरीले जनाएको छ ।

राति करिब १ बजे चोरी भएको ट्याङ्कर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर आइपुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार-पाँच जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । प्रहरीले अन्यको खोजी भइरहेको जनाएको छ ।