आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्दै सौराहाका होटल व्यवसायी

चितवन– कोरोना महामारीका कारण लामो समय बन्द भई सञ्चालन गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेका छन्। व्यवसाय पुनरुत्थान तथा आन्तरिक पर्यटकलाई सौराहा सुुरक्षित छ भन्ने सन्दृश दिन प्याकेज सार्वजनिक गर्न थालिएकोसौराहाका युवा व्यवसायी सुमन घिमिरेले बताए।

जंगल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका छन्। दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइनेछ।

होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ। प्याकेजमा एक रात दुई दिनको ४ हजार ४४४  रुपैयाँ तोकिएको छ, जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्ट पर्दछन्। यससँगै प्याकेजमा जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स समेटिएको छ।

होटल सेभेनस्टारले दशैंतिहार अफर ४० प्रतिशत छुट गरेको छ। कोठामा यो छुट गरिएको हो। होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए। कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनले बताए।

क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताए। राष्ट्रियरूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पुर्याइदिन उनले आग्रह गरे। आन्तरिक पर्यटक भित्र्याउन सकेमा होटल टिक्ने उनले बताए। सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेन्ट रहेका छन्।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान)का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए। कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ।

आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले जानकारी दिए। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए। कतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ।

गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको उनको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन्।