अफगानिस्तानद्वारा एसियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत

काबुल- अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एसियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ।

यहाँको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सरकारी निकायहरूलाई अन्तर्राष्ट्रिय र गैरसरकारी संस्थासँगै बैंकहरूले खाना र औषधिको प्रवाहलाई सहज बनाउनका लागि अनुमति दिने पछिल्लो निर्णयको स्वागत गरेको छ।’

अफगानिस्तानले अमेरिका र अन्य अन्तर्राष्ट्रिय संगठनसहित सबै देश अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध स्थापित गर्दै अफगानी जनतालाई मानवीय सहायता प्रदान गर्ने कार्यमा सहयोगी हुने अपेक्षा पनि गरेको छ। तालिबानी काम चलाउ सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्ताकीले अफगानिस्तान छिमेकीलगायत सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन्। यसैबीच अमेरिकाले शुक्रबार लाइसेन्स जारी गर्दै अमेरिकी सरकार, गैरसरकारी संस्थाहरू र अन्य केही अन्तर्राष्ट्रिय संगठनहरूलाई अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ।

यस महिनाको सुरुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा पूर्णआर्थिक पतनको सम्भावना ‘गम्भीर’ रहेको चेतावनी दिँदै अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए।

उनले अफगानिस्तानको लागि १.२ बिलियन अमेरिकी डलर राहत दिने वाचा गर्ने देशहरूलाई छिटो कदम चाल्न  समेत आग्रह गरेका थिए भने तालिबानी अधिकारीहरूले उक्त सहायता पारदर्शी ढंगले लक्षित समूहमा पुर्‍याउने प्रदिबद्धता पनि व्यक्त गरेका थिए।