तस्बिरमा अफगान युद्धको २० वर्ष

एजेन्सी – अमेरिकाको अन्तिम सैन्य विमान अफगानिस्तानबाट उडेसँगै २० वर्षसम्म चलेको अफगान सैन्य मिशन पनि अन्त्यको घोषणा भएको छ। सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा गरिएको आक्रमणको बदला लिनका लागि अफगानिस्तानमा लुकेर बसेका अलकायदा प्रमुख ओसामा बिन लादेनको खोजीमा अमेरिका युद्धमा होमिएको थियो। तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानमा अमेरिकी सेना पठाएका थिए।

यस अवधिमा अमेरिकाले युद्धका क्रममा महिला र पुरुष गरेर २ हजार ३०० सैनिक गुमायो। २० हजारभन्दा बढी घाइते भएको बिबिसीको दाबी छ। सन् २००९ बाट संयुक्त राष्ट्रसंघले विवरण राख्न थालेयता झन्डै १ लाख ११ हजार  सर्वसाधारणको मारिएको उल्लेख गरेको छ।

ब्राउन युनिभर्सिटीका अनुसार युद्ध परियोजनाअन्तर्गत सन् २००१ देखि संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा २२ खर्ब ६० अर्ब अमेरिकी डलर खर्च गरेको छ।२० वर्षसम्म चलेको युद्धमा हिंसाका कारण शरणार्थी हुनेको संख्या उल्लेख्य छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार अफगानिस्तानका २२ लाख नागरिक विदेशमा शरणार्थी जीवन बिताइरहेका छन्।

२०२० सम्मको तथ्यांक हेर्ने हो भने अफगानिस्तान छाडेकामध्ये अधिकांश नागरिक पाकिस्तानमा छन्। जहाँ १४ लाख ३८ हजार अफगानी नागरिकले शरण लिएको तथ्यांकमा उल्लेख छ। पाकिस्तानपछि इरानमा ७ लाख ८ हजार अफगानीले शरण लिएका छन्। यस्तै‚ जर्मनीमा १ लाख ८० हजार, अष्ट्रियामा ४० हजार, फ्रान्समा ३२ हजार, स्वीडेनमा ३० हजार, अष्ट्रेलियामा ११ हजार, बेलायतमा ९ हजार, भारतमा ८ हजार र अमेरिकामा २ हजार अफगानी नागरिक रहेका छन्।

यस्तै, टर्कीले आफूकहाँ कति अफगानी जनताले कति शरण लिएका छन् भन्ने तथ्यांक उपलब्ध गराएको छैन। तर, त्यहाँ करिब २ देखि ६ लाख अफगानी जनता शरणार्थी जीवन बिताइरहेको रिपोर्टहरूमा उल्लेख छ। पछिल्लो अगस्ट १४ देखि यता अफगानिस्तानबाट करिब १.२५ मिलियन नागरिकहरुलाई बाहिरिएका छन्।

तस्वीर : एजेन्सी