युवाहरूका लागि उत्कृष्ट अवसर: बुटिक व्यवसायबाट स्वरोजगार

युवाहरूका लागि उत्कृष्ट अवसर: बुटिक व्यवसायबाट स्वरोजगार
बेलबारी, मोरङ (पूर्वी नेपाल) बदलिँदो समयसँगै नेपालमा बेरोजगारी र गरिबी गम्भीर सामाजिक तथा आर्थिक चुनौतीका रूपमा देखिएका छन्। यी समस्याको दीर्घकालीन समाधान रोजगारी र स्वरोजगारको सिर्जना नै हो। तर, रोजगारी भनेको केवल वैदेशिक रोजगार मात्र होइन। सीपमा आधारित उद्यमशीलताले पनि युवाहरूलाई आत्मनिर्भर बन्ने बलियो आधार प्रदान गर्न सक्छ। यही सन्दर्भमा बिजिनेससंसार ले वि.सं. २०८१ कार्तिक महिनामा प्रकाशित गरेको फेब्रिकबुटिक सम्बन्धी कार्यक्रमले एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको थियो। फेब्रिकबुटिककी सञ्चालिका कृष्णकुमारी श्रेष्ठ (याखा) का अनुसार, बुटिक तथा फेसन डिजाइनसम्बन्धी सीप हासिल गर्न सके आफ्नै गाउँ, बजार वा सहरमै सम्मानजनक आम्दानी गर्न सकिन्छ। यस व्यवसायले व्यक्तिलाई केवल आफ्नो जीविकोपार्जन मात्र होइन, परिवारको आर्थिक जिम्मेवारीसमेत सहज रूपमा वहन गर्न सक्षम बनाउने उहाँको रहेको छ। उहाँले करिब १ लाख ५० हजार रुपैयाँको लगानीमा वि.सं. २०७२ सालदेखि फेब्रिक बुटिक सञ्चालन गर्दै आउनुभएको छ। तर, विडम्बना के छ भने आफ्नै व्यवसाय सञ्चालनका लागि आवश्यक दक्ष नेपाली जनशक्ति नपाएपछि नेपाली युवाबाट नपाएपछि भारतीय कालिगढलाई रोजगारी दिन बाध्य हुनुभएको छ। यस विषयमा उहाँ दुःख व्यक्त गर्दै भन्नुहुन्छ, "धेरै युवाहरूले सीप सिकेर आफ्नै ठाउँमा अवसर खोज्नुको सट्टा ऋण लिएर पनि वैदेशिक रोजगारी रोज्ने प्रवृत्ति बढ्दो छ। यदि स्थानीय युवाहरूले बुटिक तथा फेसन डिजाइन क्षेत्रमा रुचि देखाउने हो भने उनीहरूलाई यहीँ राम्रो रोजगारी र भविष्य निर्माण गर्ने अवसर उपलब्ध गराउन सकिन्छ।" उहाँका अनुसार, विगतको तुलनामा बुटिक व्यवसायको माग केही घटेजस्तो महसुस भए पनि फेसनप्रति मानिसहरूको आकर्षण अझै बलियो छ। ग्राहकको रुचि र अपेक्षा निरन्तर परिवर्तन भइरहने र बजारमा नयाँ–नयाँ डिजाइन आइरहने भएकाले यो व्यवसाय अत्यन्त प्रतिस्पर्धात्मक बनेको छ। त्यसैले यस क्षेत्रमा सफल हुन सिर्जनशीलता, गुणस्तरीय सेवा र निरन्तर सिकाइ आवश्यक हुन्छ। चुनौतीसँगै अवसर पनि उत्तिकै प्रशस्त छन्। आवश्यक सीप विकास गरेर यस क्षेत्रमा प्रवेश गर्ने युवाहरूले राम्रो आम्दानी, स्वरोजगार र सफल उद्यमी बन्ने सम्भावना बोकेका छन्। विशेषगरी सिलाइ, कटिङ, डिजाइन तथा फेसनप्रति रुचि भएका युवाहरूका लागि बुटिक व्यवसाय आकर्षक करियर बन्न सक्छ। कृष्णकुमारी श्रेष्ठ (याखा) स्थानीय युवाहरूलाई नै कालिगढका रूपमा रोजगारी दिन चाहनुहुन्छ। उहाँ भन्नुहुन्छ, "यदि दक्ष स्थानीय जनशक्ति उपलब्ध भयो भने मैले भारतीय कालिगढ राखिरहनुपर्ने आवश्यकता रहने छैन।" यही उद्देश्यलाई ध्यानमा राख्दै फेब्रिक बुटिकले स्थानीय युवाहरूलाई लक्षित गरी बुटिक तथा फेसन डिजाइनसम्बन्धी तालिमसमेत सञ्चालन गरिरहेको छ। यसले सीप सिक्न चाहने युवाहरूलाई नयाँ अवसरको ढोका खोलिदिएको छ। आजको नेपाललाई सक्षम, आत्मनिर्भर र समृद्ध बनाउन युवाहरूको हातमा सीप हुनु अपरिहार्य छ। सीपयुक्त युवा नै समृद्ध समाज र बलियो अर्थतन्त्रको आधार हुन्। यदि यो लेखले कम्तीमा एक जना युवालाई पनि नयाँ सोचका साथ आफ्नो भविष्य निर्माण गर्न प्रेरित गर्न सक्यो भने हाम्रो प्रयास सफल भएको ठहरिनेछ। – बिजिनेस संसार